इरानविरुद्ध युद्ध तयारीमा अमेरिका–इजरायल

3.7k Shares

तेलअभिभ । पछिल्लो २४ घण्टामा अमेरिकाका दर्जनौँ सैन्य कार्गो विमान इजरायल पुगेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र ठूलो परिमाणमा गोला–बारुद बोकेर ती विमान तेलअभिभ अवतरण गरेका हुन्।

इजरायली सञ्चारमाध्यमहरूले यसलाई इरानविरुद्ध सम्भावित नयाँ सैन्य हमलाको तयारीका रूपमा व्याख्या गरेका छन्। इजरायलको च्यानल–१३ का अनुसार अमेरिकी कार्गो विमानहरूले ठूलो मात्रामा सैन्य सामग्री ल्याएका छन्, जुन इरानसँग फेरि युद्ध सुरु गर्ने रणनीतिक तयारीको हिस्सा हुन सक्ने बताइएको छ।

यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच इरानबारे भएको उच्चस्तरीय छलफलपछि सार्वजनिक भएको हो। रिपोर्टअनुसार अमेरिका र इजरायल दुवैले इरानमाथि सम्भावित नयाँ सैन्य विकल्पबारे गम्भीर छलफल गरिरहेका छन्।

हालै ट्रम्पले पनि इरानलाई चेतावनी दिँदै वार्तामा ढिलाइ नगर्न आग्रह गरेका थिए। उनले इरानले चाँडै सम्झौता नगरे परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका थिए।

आइतबार नेतन्याहू र ट्रम्पबीच भएको फोन वार्तामा इरानसँगको तनाव, सम्भावित युद्ध तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ। त्यसपछि नेतन्याहूले जेरुसेलममा सुरक्षा बैठक बोलाएका थिए, जहाँ विदेश, रक्षा र राष्ट्रिय सुरक्षा मामिलाका उच्च अधिकारी सहभागी भएका थिए।

त्यसैगरी, अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार ट्रम्पले मंगलबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग ‘सिचुएशन रुम’ बैठक बोलाउने तयारी गरेका छन्। उक्त बैठकमा इरानविरुद्धका सम्भावित सैन्य रणनीतिबारे समीक्षा हुने बताइएको छ।

सम्बन्धित समाचार