डब्लूएचओ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

1.9k Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ । जेनेभामा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

नेपालले पाएको यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विश्वव्यापी नीति निर्माण र सहकार्यमा नेपालको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्षमा निर्वाचित अन्य राष्ट्रहरूमा लिबिया, मालि, पोल्यान्ड र पपुवा न्युगिनी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण मञ्चका रूपमा रहेको विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता, चुनौती र सहकार्यका विषयमा छलफल गर्ने गर्दछन् ।

महासभाको सोही सत्र अन्तर्गत नेपालका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपालको सार्वजनिक स्वास्थ्य सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा विश्व स्वास्थ्य सहकार्यबारे नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ ।

महासभामा विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार