अमेरिकाको मस्जिदमा गोलीकाण्ड, तीन जनाको ज्यान गयो

3.1k Shares

वासिङ्टन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारमा तीन जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आशंका गरिएका दुई किशोर पनि पछि मृत अवस्थामा फेला परेका छन् ।

बीबीसीका अनुसार सान डिएगो काउन्टीकै ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा उक्त आक्रमण भएको हो। प्रहरीले घटनालाई ‘घृणाजन्य अपराध’ को कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार घटनाको सुरुवात एक महिलाले आफ्नो छोरा हराएको जानकारी दिएपछि भएको थियो । उनले घरबाट केही हतियार र कारसमेत गायब भएको बताएकी थिइन् । त्यसपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।

आक्रमणका क्रममा मस्जिदमा रहेका सुरक्षाकर्मीले प्रतिकार गरेका थिए। प्रहरी प्रमुख स्कट वाह्लले सुरक्षाकर्मीको साहसी कदमका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताएका छन् ।

गोलीकाण्डपछि फरार भएका दुई किशोर संदिग्धहरू नजिकै गुडिरहेको कारभित्र मृत फेला परेका थिए। उनीहरूले आफैंलाई गोली हानेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार