चीन–रुस सम्बन्ध झन् गहिरिँदै, रणनीतिक साझेदारी बलियो
4.2k
Shares
काठमाडौं । चीन र रुस बीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ मजबुत बन्दै गएको विश्लेषण गरिएको छ । पश्चिमी मुलुकसँगको बढ्दो तनावका बीच दुवै देशले आफ्नो साझेदारीलाई ‘सीमाविहीन मित्रता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् ।
गत सेप्टेम्बरमा बेइजिङको तियानमेन स्क्वायरमा भेट हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच मानिसको आयु लम्ब्याउने सम्भावनाबारे भएको अनौपचारिक संवादले उनीहरूको निकट सम्बन्धलाई झल्काएको थियो ।
रुस र चीनबीच भएको ‘गुड नेबरलिनेस एन्ड फ्रेन्डली कोअपरेसन’ सन्धिको २५औँ वार्षिकोत्सवका अवसरमा पुटिन फेरि बेइजिङ भ्रमणमा जाने तयारीमा छन् । विश्लेषकहरूका अनुसार युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका कारण रुस आर्थिक र प्राविधिक रूपमा चीनमा बढी निर्भर बन्न पुगेको छ । चीन अहिले रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।
चिनियाँ कम्पनी हुवावे ले रुसको दूरसञ्चार क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ भने युद्धका लागि आवश्यक प्रविधि तथा पाटपुर्जाको ठूलो हिस्सा पनि चीनबाट रुसमा पुगिरहेको बताइएको छ । ऊर्जा क्षेत्रमा पनि दुवै देशबीच सहकार्य बढ्दै गएको छ । ‘पावर अफ साइबेरिया–२’ पाइपलाइनमार्फत ठूलो मात्रामा रुसी ग्यास चीन पुर्याउने योजना अघि बढाइएको छ ।
यद्यपि, चीन र रुसबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विशेषज्ञहरूका अनुसार उनीहरूको सम्बन्ध रणनीतिक साझेदारीमा आधारित छ, जसले दुवै देशलाई आवश्यकता अनुसार लचकता अपनाउने अवसर दिएको छ । विश्लेषकहरूले चीन पश्चिमसँगको सम्बन्ध पूर्ण रूपमा बिगार्न नचाहने तर रुस भने अमेरिकाको प्रभाव घटाउन आक्रामक रूपमा अघि बढ्न खोजिरहेको बताएका छन् ।
पश्चिमा प्रतिबन्धका कारण रुसी नागरिकहरूमा चीनप्रतिको आकर्षण पनि बढ्दै गएको छ । व्यापार, शिक्षा, प्रविधि र यात्राका क्षेत्रमा दुई देशबीचको सम्पर्क विस्तार भइरहेको छ । विशेषज्ञहरूका अनुसार केही असन्तुलन र मतभेद भए पनि हालको अवस्थामा चीन–रुस सम्बन्ध कमजोर हुने सम्भावना कम देखिन्छ ।