मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेक, खर्क र पाटन क्षेत्रमा एआई ड्रोन प्रविधिमार्फत वन गस्ती सुरु गरेको छ ।
मुस्ताङमा यसअघि ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न सांस्कृतिक कार्यक्रमको दृश्य छायांकनमा प्रयोग हुँदै आएको भए पनि वन संरक्षण र निगरानीका लागि भने पहिलोपटक एआई प्रविधियुक्त ड्रोन प्रयोग गरिएको हो ।
कठिन भूगोल, उच्च हिमाली क्षेत्र र न्यून मानव बस्ती भएका स्थानमा वन अनुगमनलाई प्रभावकारी बनाउन यो प्रविधि प्रयोगमा ल्याइएको कार्यालयले जनाएको छ । एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकाली का अनुसार संरक्षित वन, वनपैदावार तथा वन्यजन्तुको संरक्षणका साथै चोरी शिकारी र अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि एआई ड्रोन प्रयोग गरिएको हो ।
उनका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रालेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेकलगायत क्षेत्रमा ड्रोनमार्फत गस्ती गरिसकिएको छ । हाल यार्सा गुम्बा सङ्कलनको सिजन चलिरहेकाले सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न पनि एआई ड्रोनबाट छड्के अनुगमन भइरहेको छ ।
वन क्षेत्रमा पासो थाप्ने, बन्दुक बोकेर गैरकानुनी रूपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम बढ्न सक्ने गतिविधि रोक्न आधुनिक प्रविधिको प्रयोग गरिएको बताइएको छ ।
कार्यालयका अनुसार प्रयोग गरिएको ड्रोनको तौल १०६३ ग्राम रहेको छ । उक्त ड्रोन १५ देखि २० किलोमिटर दूरीसम्म उड्न सक्छ भने ६ किलोमिटर उचाइसम्म पुग्नसक्ने क्षमता राख्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिने जनाइएको छ ।