अतिक्रमित संरचना हटाउन पोखरा महानगरको निर्देशन

1.8k Shares

गण्डकी । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र फिर्केखोला क्षेत्रमा भएको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र बनेका स्थायी तथा अस्थायी संरचना सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं हटाउन निर्देशन दिएको हो ।

महानगरका अनुसार पोखरा–१८ अँधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रभित्र पर्ने सबै संरचना हटाइनेछन् । महानगरपालिकाको प्राविधिक टोलीले नापजाँच गरी पोल गाडेको क्षेत्रभित्रका संरचना तोकिएको समयभित्र नहटाए महानगर आफैँले हटाउने र त्यसको लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।

यसअघि पनि महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै फिर्केखोला खोलाघरभित्र बनेका संरचना हटाउन ३५ दिनको समय दिएको थियो । त्यस्तै २०८० साल कात्तिक १० गते पनि उक्त क्षेत्रमा बनेका संरचना हटाउन सूचना जारी गरिएको थियो ।

उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण र परमादेश जारी गर्नु नपर्ने फैसला गरिसकेको छ । अदालतको आदेश तथा महानगरको अघिल्लो सूचनालाई आधार मान्दै जेठ ९ गतेभित्र अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन समयसीमा तोकिएको हो ।

यसैबीच महानगरपालिकाले प्रस्तावित आधुनिक पोखरा बसपार्क निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउने तयारी पनि थालेको छ । बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन कार्य जेठ ८ गतेसम्म गरिने भएको छ ।

महानगरले यसअघि निस्सा पाएका व्यक्तिलाई वडा नम्बर ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन आग्रह गरेको छ । यसका लागि निस्साको प्रतिलिपि, नागरिकता प्रमाणपत्र, नाता प्रमाणित कागजात वा स्वघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ ।

आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३१–३२ सालतिर पृथ्वीचोक क्षेत्रमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर वर्षौंदेखिको अतिक्रमणका कारण हाल करिब ६० रोपनी जग्गा मात्र बाँकी रहेको बताइएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्र खाली गराएर आधुनिक बसपार्क निर्माणलाई अघि बढाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

सम्बन्धित समाचार