युद्ध रोक्ने ट्रम्पको निर्णयमा नेतन्याहू असन्तुष्ट

3k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरान युद्धको विषयमा गम्भीर मतभेद देखिएको छ । इरानमाथि सैन्य हमला जारी राख्ने वा कूटनीतिक बाटो अपनाउने भन्ने विषयमा दुई नेताबीच टेलिफोन संवादमै विवाद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सीएनएन लगायतका सञ्चारमाध्यमका अनुसार नेतन्याहूले इरानविरुद्ध सैन्य दबाब कायम राख्नुपर्ने अडान लिएका छन् भने ट्रम्पले हाललाई युद्ध रोकेर वार्ता र सम्झौतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । मंगलबार भएको करिब एक घण्टा लामो फोन संवादमा नेतन्याहूले ट्रम्पलाई प्रस्तावित हमला रोक्नु गल्ती भएको बताएका थिए ।

यसअघि ट्रम्पले इजरायललाई ‘अपरेशन स्लेजह्यामर’ नामको लक्षित सैन्य कारबाहीको तयारीबारे जानकारी गराएका थिए । तर त्यसको २४ घण्टाभित्रै उनले योजना स्थगित गरिएको घोषणा गरे । ट्रम्पले कतार, साउदी अरब र यूएईजस्ता खाडी मुलुकहरूको आग्रहपछि युद्ध रोक्ने निर्णय लिएको बताएका छन् ।

बुधबार अमेरिकी कोस्टगार्ड एकेडेमीमा दिएको भाषणमा ट्रम्पले इरानको सैन्य संरचना धेरै कमजोर भइसकेको दाबी गर्दै अब दुई विकल्प मात्रै बाँकी रहेको बताए । उनले भने, ‘अब या त इरान पूर्ण रूपमा समाप्त हुन्छ, या सम्झौतामा हस्ताक्षर गर्छ ।’

ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता अत्यधिक रहेको दाबी गर्दै मजाकका रूपमा आफू इजरायलको प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने टिप्पणी गरे । उनले नेतन्याहू आफ्नो कुरा मान्ने नेता भएको पनि बताएका छन् ।

यसबीच खाडी क्षेत्रमा तनाव बढिरहेका बेला यूएईको सरकारी तेल कम्पनी एड्नोकले हर्मुज स्ट्रेटलाई बाइपास गर्ने नयाँ तेल पाइपलाइनको आधा काम पूरा भएको जनाएको छ । यसले खाडी क्षेत्रको तेल आपूर्तिलाई सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

उता पाकिस्तानले पनि मध्यस्थताको प्रयास थालेको बताइएको छ । पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीर फेरि तेहरान पुगेका छन् भने इरानले अमेरिकासँग १४ बुँदे प्रस्ताव पेश गरेको खबर सार्वजनिक भएको छ ।

अमेरिकाभित्र पनि इरान युद्धको विरोध चर्किन थालेको छ । वासिङ्टन डीसीमा पूर्व सैनिक र डेमोक्रेट सांसदहरूले ट्रम्प प्रशासनको नीतिविरुद्ध प्रदर्शन गरेका छन् । ट्रम्पले कूटनीतिक पहललाई प्राथमिकता दिएको बताए पनि इरानले आफ्नो परमाणु कार्यक्रम र मिसाइल नीति नछोडे ठूलो सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार