युद्धको माहोलबीच तेहरानमा सामूहिक विवाह, बलिदान दिन तयार जोडीहरूको घोषणा
5.8k
Shares
तेहरान । अमेरिका र इजरायलविरुद्ध भइरहेको युद्धका क्रममा देशका लागि ज्यान दिन तयार रहेको घोषणा गरेका जोडीहरूको सामूहिक सार्वजनिक विवाह आयोजना गरिएको छ ।
सोमबार राति आयोजित कार्यक्रममा राजधानीका विभिन्न चोक तथा सार्वजनिक स्थलमा सयौँ जोडी सहभागी भएका थिए । मध्य तेहरानस्थित इमाम हुसेन स्क्वायरमा मात्रै ११० भन्दा बढी जोडीले सामूहिक विवाह गरेका थिए ।
इरानी सरकारी दूरदर्शनले उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको थियो । युद्धविरामको अवस्था कायम रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएपछि सरकारले जनताको मनोबल उच्च बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताइएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार कार्यक्रममा सहभागीहरूले ‘जनबलिदान’ नामक स्वेच्छिक बलिदान योजनामा हस्ताक्षर गरेका थिए । उनीहरूले देशको सुरक्षाका लागि आवश्यक परे आफ्नो ज्यान अर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्युत् केन्द्रलगायत महत्वपूर्ण संरचनाको सुरक्षाका लागि मानव साङ्लो बनाएर सहयोग गर्ने वाचा पनि उनीहरूले गरेका थिए ।
इरानी अधिकारीहरूका अनुसार संसद्का सभामुख मोहम्मद बाघर गालिबाफ, राष्ट्रपति मसुद पेजेस्कियनलगायत लाखौँ नागरिकले युद्धका लागि आफ्नो नाम दर्ता गराइसकेका छन् ।
समारोहमा केही जोडी सैनिक जीपमा स्वचालित हतियारसहित मञ्चमा पुगेका थिए । धर्मगुरुको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न गरिएको थियो । मञ्च युद्धसम्बन्धी प्रतीक, बेलुन तथा सर्वोच्च नेता परिवारसँग सम्बन्धित तस्बिरहरूले सजाइएको थियो ।
सेतो इस्लामिक बेहुली पोसाकमा रहेकी एक युवतीले “देश युद्धमा भए पनि युवाहरूले विवाह गर्न पाउनुपर्छ” भन्दै कठिन परिस्थितिका बीच पनि नयाँ जीवन सुरु गर्न चाहेको बताएकी थिइन् ।
उनको छेउमा रहेका बेहुलाले शिया मुस्लिमहरूले सम्मान गर्ने इमाम अलीको विवाह वार्षिकोत्सवको अवसरमा आफूहरू खुशी रहेको बताएका थिए । युद्ध सुरु भएदेखि नै इरानी सरकारले जनसमर्थन देखाउन दैनिकजसो सरकार समर्थित सभा, जुलुस तथा सार्वजनिक कार्यक्रम आयोजना गर्दै आएको छ ।