गुजरातको धमाकेदार जित, चेन्नई ८९ रनले पराजित

12.1k Shares

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ८९ रनले पराजित गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरातले दिएको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १३ दशमलव ४ ओभरमा १ सय ४० रनमै समेटिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८४ रन बनाए भने कप्तान शुभमन गिलले ३७ बलमा ६४ रनको आक्रामक इनिङ्स खेले । दुवैले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै जोस बटलरले २७ बलमा अविजित ५७ रन थपे । चेन्नईका लागि मुकेश चौधरी, स्पेन्सर जोनसन र अंशुल कम्बोजले समान एक–एक विकेट लिए ।

विशाल लक्ष्य पछ्याएको चेन्नईका ब्याटरहरू गुजरातका तीव्र गतिका बलर मोहम्मद सिराज र स्पिनर राशिद खानसामु टिक्न सकेनन् । चेन्नईका लागि शिवम दुबेले १७ बलमा ४७ रन बनाए भने म्याट शर्टले २४ रन जोडे । कप्तान रुतुराज गायकवाड १६ रनमा आउट भए भने सञ्जु सामसन खाता नै नखोली पेभेलियन फर्किएका थिए ।

चेन्नईलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सिराजले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । राशिद खानले १८ रन खर्चेर ३ विकेट लिए भने कागिसो रबाडाले ३२ रन दिएर ३ विकेट हात पारे । यो जितसँगै गुजरातले १८ अंक बनाएको छ भने चेन्नई १२ अंकसहित यस सिजनको प्रतियोगिताबाट बाहिरिएको छ ।

 
सम्बन्धित समाचार