विश्व स्वास्थ्य सभामा नेपाल–डब्लुएचओ सहकार्यबारे छलफल
2.9k
Shares
जेनेभा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबीच स्विट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको छ । उक्त भेट विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्यसभाका क्रममा भएको हो ।
भेटवार्ताका क्रममा नेपाल र डब्लुएचओबीचको स्वास्थ्य क्षेत्रीय सहकार्य, सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढीकरण, तथा भविष्यमा गर्न सकिने संयुक्त कार्यक्रमहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री मेहताले डब्लुएचओ प्रमुख टेड्रोससँगको भेटलाई अत्यन्त फलदायी भएको बताउँदै नेपालका स्वास्थ्य प्राथमिकता र आवश्यकता पूरा गर्न संगठनको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखेकी छन् ।
त्यस अवसरमा डा. टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । उनले नेपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको प्रगतिलाई सकारात्मक रूपमा मूल्यांकन गरेको पनि मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले यसअघि सभाका क्रममा भारतीय तथा चिनियाँ समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उनी तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उक्त सभामा सहभागी हुन जेनेभा गएकी हुन् ।