अमेरिकी हमलापछि खाडीमा बदलिँदो शक्ति सन्तुलन, इरानको प्रभाव बढ्दो

6.1k Shares

अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि खाडी क्षेत्रमा शक्ति सन्तुलन तीव्र रूपमा बदलिन थालेको विश्लेषण गरिएको छ । इरानलाई कमजोर बनाएर खाडी क्षेत्रमा आफ्नो प्रभाव बलियो बनाउने अमेरिकी र इजरायली रणनीति उल्टै उनीहरूकै लागि चुनौतीपूर्ण बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

इरानलाई खाडी क्षेत्रमा केवल क्षेत्रीय शक्ति मात्र नभई असमान युद्ध रणनीतिमा निपुण सैन्य शक्तिका रूपमा हेरिन्छ । पछिल्ला हमलापछि अमेरिकासँग निकट सम्बन्ध राख्ने खाडी देशहरू समेत अमेरिकी सुरक्षा नीतिप्रति सशंकित बन्न थालेका छन् । यसले अमेरिकाले दशकौँदेखि निर्माण गरेको सुरक्षा संरचनामाथि प्रश्न उठ्न थालेको छ ।

विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत र ओमानजस्ता देश लामो समयदेखि अमेरिकी सुरक्षा छातामुनि रहँदै आएका थिए । यी देशले तेल आपूर्ति र रणनीतिक सहयोग उपलब्ध गराउने तथा अमेरिकाले सैन्य सुरक्षा दिने सहमतिअनुसार सम्बन्ध विकास भएको थियो ।

तर पछिल्ला घटनाक्रमले अमेरिकी सैन्य शक्तिको प्रभावकारितामाथि प्रश्न उठाएको छ । इरानले अमेरिकी सैन्य अड्डा र ऊर्जा संरचनालाई निशाना बनाएपछि खाडी देशहरूमा सुरक्षा चुनौती बढेको विश्लेषण गरिएको छ । विशेषगरी अमेरिकी रक्षा प्रणालीले आफ्ना सैन्य संरचना पूर्ण रूपमा जोगाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

साउदी अरबले हालै अमेरिकालाई आफ्नो आकाश प्रयोग गर्न अनुमति नदिनु तथा खाडीका केही देशले तटस्थ नीति लिन खोज्नुले पनि क्षेत्रीय राजनीति बदलिँदै गएको संकेत मानिएको छ । अर्कोतर्फ यूएईमाथि इरानी आक्रमण बढ्दा खाडी राष्ट्रहरू असुरक्षित महसुस गर्न थालेका छन् ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले खाडी क्षेत्रलाई ऊर्जा सुरक्षासँग जोडेर आफ्नो प्रभाव विस्तार गरेको थियो । तेल आपूर्ति सुरक्षित राख्न अमेरिकाले सैन्य अड्डा स्थापना गर्ने, रक्षा सम्झौता गर्ने तथा खाडीका राजतन्त्रलाई संरक्षण गर्ने नीति लिएको थियो । त्यसयता खाडीमा अमेरिकी उपस्थिति लगातार बलियो बन्दै आएको थियो ।

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएपछि भने अमेरिका–इरान सम्बन्ध बिग्रिएको थियो । त्यसपछि खाडीका राजतन्त्रात्मक देशहरू अमेरिकासँग अझ निकट भएका थिए । इरान–इराक युद्धदेखि लिएर कुवेत युद्धसम्म अमेरिकाले खाडी क्षेत्रमा प्रत्यक्ष सैन्य भूमिका निर्वाह गर्दै आएको थियो ।

तर अहिलेको युद्धले खाडी देशलाई नयाँ संकटमा धकेलेको विश्लेषण गरिएको छ । इरानले अमेरिकी सैन्य अड्डा र ऊर्जा परियोजनालाई निशाना बनाएपछि खाडी राष्ट्रहरूको अर्थतन्त्र र सुरक्षामा प्रत्यक्ष असर परेको छ ।

विशेषगरी स्ट्रेट अफ होर्मुजमाथि इरानले प्रभाव बढाउने प्रयास गरिरहेको बताइएको छ । विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग मानिने होर्मुज क्षेत्रमा इरानको नियन्त्रण बढे खाडी देशहरूको व्यापार र ऊर्जा निर्यातमा ठूलो असर पर्न सक्ने विश्लेषण गरिएको छ ।

युद्धपछि खाडी देशहरू वैकल्पिक सुरक्षा साझेदार खोज्नेतर्फ पनि उन्मुख भएका छन् । साउदी अरबले टर्की र पाकिस्तानसँग रक्षा सहकार्य विस्तार गरिरहेको छ भने यूएई इजरायलसँग निकट देखिएको छ ।

विश्लेषकहरूका अनुसार इरानमाथिको आक्रमणले खाडी क्षेत्रमा अमेरिकी प्रभाव कमजोर बनाउने तथा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बढाएको छ । अहिले खाडी राष्ट्रहरू अमेरिकामाथिको निर्भर सुरक्षा प्रणाली भविष्यमा कति प्रभावकारी हुन्छ भन्ने प्रश्नसँग जुधिरहेका छन् ।

             (अलजजिरा बीबीसी सहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)
सम्बन्धित समाचार