कास्की । पोखरा महानगरपालिकाले आजदेखि फिर्केखोलाको खोलाघर मिचेर निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउने अभियान सुरु गरेको छ। महानगरले यसअघि दिएको समयसीमाभित्र संरचना नहटाएपछि डोजर चलाएर अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।
महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनाबाट सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रमा करिब १६० वटा संरचना निर्माण गरिएको छ। ती संरचनाले खोलाको प्राकृतिक बहाव अवरुद्ध गरेको भन्दै हटाउन लागिएको महानगरले जनाएको छ।
यसअघि महानगरले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेको थियो। सो निर्णयविरुद्ध उच्च अदालत पोखरामा रिट दायर भए पनि अदालतले महानगरको कदमलाई वैधानिकता दिएपछि अतिक्रमण हटाउने बाटो खुलेको हो।
महानगरले तोकिएको अवधिभित्र संरचना नहटाउने व्यक्ति वा संस्थामाथि डोजर प्रयोग गरिने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाटै असुल गरिने चेतावनी दिएको छ।
मेयर धनराज आचार्य ले फिर्केखोला क्षेत्र खाली गराएर करिडोर निर्माण गर्ने योजना रहेको बताएका छन्। महानगरले फेवाताल संरक्षण, बसपार्क व्यवस्थापन र अतिक्रमण नियन्त्रण अभियानलाई पनि सँगसँगै अगाडि बढाइरहेको जनाएको छ।