इरानसँगको सम्झौतामा हतार नगर्न अमेरिकी टोलीलाई ट्रम्पको निर्देशन

3k Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा हतार नगर्न अमेरिकी टोलीलाई निर्देशन दिएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम लम्ब्याउने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप छलफल गर्ने विषय समावेश गरिएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । उनले दुवै पक्षले पर्याप्त समय लिएर उचित निर्णय गर्नुपर्ने उल्लेख गरेका छन् । यसअघि उनले सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका थिए ।

इरानी सञ्चारमाध्यमहरूले भने अझै केही विषयमा असहमति कायम रहेको जनाएका छन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्तामा प्रगति भए पनि मुख्य विषयमा सहमति हुन बाँकी रहेको बताएका छन् ।

सम्भावित सम्झौताले अमेरिकी रिपब्लिकन दलभित्र पनि मतभेद सिर्जना गरेको छ । केही नेताहरूले सम्झौता इरानप्रति अत्यधिक नरम भएको टिप्पणी गरेका छन् भने अन्यले यसलाई कूटनीतिक सफलता बताएका छन् ।

अमेरिका र इजरायलले गत फागुन २८ गते इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको थियो । त्यसपछि इरानले पनि प्रतिआक्रमण गरेको थियो । वैशाखमा युद्धविराम भएपछि वार्ता प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ ।

ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी अडान दोहोर्‍याउँदै सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी कायम रहने बताएका छन् ।

 
 
सम्बन्धित समाचार