गुजरातलाई ९२ रनले हराउँदै बेंगलुरु फाइनलमा

1.2k Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा गुजरात टाइटन्स लाई ९२ रनले पराजित गर्दै बेंगलुरु लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो।

गत सिजन पहिलो पटक उपाधि जितेको बेंगलुरुले यसपटक उपाधि रक्षा गर्ने अवसर पाएको छ। अब बुधबार हुने एलिमिनेटरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले क्वालिफायर–२ मा गुजरात टाइटन्ससँग खेल्नेछ र त्यसको विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ।

धर्मशालामा भएको खेलमा २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो। गुजरातका लागि राहुल तेवतिया ले सर्वाधिक ६८ रन बनाए। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

बेंगलुरुको बलिङमा ज्याकोब डफी चम्किए। उनले महत्वपूर्ण ३ विकेट लिएर गुजरातको ब्याटिङ लाइनअप धराशायी बनाउन भूमिका खेले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका कप्तान रजत पाटीदार ले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ९३ रन बनाए। उनले ५ चौका र ९ छक्का प्रहार गर्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरेका थिए।

यस्तै विराट कोहली र क्रुनाल पाण्ड्या ले समान ४३–४३ रन जोडे। रजत र क्रुनालबीच चौथो विकेटका लागि ९५ रनको आक्रामक साझेदारी भएपछि बेंगलुरुले विशाल स्कोर खडा गरेको थियो।

सम्बन्धित समाचार