फिफा विश्वकप २०२६ : विजेतालाई ५० मिलियन डलर, सबै टिमलाई कम्तीमा ९ मिलियन डलर
3.2k
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को पुरस्कार रकम खेलकुद इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ । आगामी प्रतियोगिताको विजेता टोलीले ५० मिलियन अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) प्राप्त गर्नेछ ।
यसपालिको विश्वकपमा ४८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको संरचना अनुसार कुनै पनि टिमले एक खेल पनि नजिते पनि कम्तीमा ९ मिलियन अमेरिकी डलर लिएर घर फर्किनेछ । तयारी खर्च जोड्दा प्रत्येक सहभागी संघले झण्डै १२.५ मिलियन डलर सुनिश्चित पाउनेछ।
फिफाले यस प्रतियोगितामा करिब ८७१ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने तयारी गरेको छ। अघिल्लो सन् २०२२ को तुलनामा यो रकम ५० प्रतिशतभन्दा बढी हो ।
समूह चरणदेखि फाइनलसम्म विभिन्न चरणका लागि फरक–फरक पुरस्कार निर्धारण गरिएको छ। उपविजेताले ३३ मिलियन डलर, तेस्रो स्थानले २९ मिलियन डलर र चौथो स्थानले २७ मिलियन डलर पाउनेछन्। समूह चरणमै बाहिरिने टोलीले पनि ९ देखि ११ मिलियन डलरसम्म प्राप्त गर्नेछन् ।
यससँगै फिफाले खेलाडीलाई राष्ट्रिय टोलीमा पठाउने क्लबहरूलाई पनि दैनिक ११ हजार डलरसम्म क्षतिपूर्ति दिनेछ। क्लब बेनिफिट्स कार्यक्रमका लागि मात्र ३५५ मिलियन डलरको कोष छुट्याइएको छ ।
फिफाका अनुसार २०२६ विश्वकपबाट कुल आम्दानी ११ देखि १३ बिलियन डलरसम्म पुग्ने अनुमान छ। प्रसारण अधिकार, टिकट बिक्री र स्पोन्सरसिपबाट मात्र ठूलो आम्दानी हुने अपेक्षा गरिएको छ ।
तर टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै समर्थक र खेलकुद विश्लेषकहरूले आलोचना पनि गरेका छन् । फाइनल खेलको टिकट मूल्य करिब ६,७३० डलरसम्म पुग्न सक्ने अनुमान छ । यसरी फिफा विश्वकप २०२६ आर्थिक रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो र महँगो खेलकुद प्रतियोगिता बन्ने देखिएको छ ।