च्याम्पियन्स लिगमा पीएसजीको लगातार दोस्रो उपाधि, आर्सनल पेनाल्टीमा स्तब्ध

1.8k Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति हंगेरीको पुस्कास एरेनामा सम्पन्न फाइनलमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि आफ्नो नाममा लेखाएको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको सुरुआतमै काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा उस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा पीएसजीका खेलाडीहरू सफल हुँदा आर्सनलका एबेरेची इजे र गाब्रियल मगल्हाएसले अवसर सदुपयोग गर्न सकेनन्।

निर्णायक पेनाल्टीमा गाब्रियलको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पीएसजी विजयी बन्यो र उपाधि उचाल्न सफल भयो।

यो जितसँगै प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पीएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको छ।

यता आर्सनलको भने इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जित्ने सपना फेरि अधुरै बनेको छ। फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेको आर्सनल उपाधिबाट एक कदम टाढा रोकिएको हो।

 
 
सम्बन्धित समाचार