इरानलाई चीनको सैन्य सहयोगबारे अमेरिकी अनुसन्धान तीव्र

1.3k Shares

वाशिङ्टन । गत अप्रिलमा इरानमाथि भएको संघर्षका क्रममा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान खसाल्न सम्भवतः चीनमा निर्मित काँधबाट प्रक्षेपण गर्न सकिने मिसाइल (म्यानप्याड्स) प्रयोग गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

एनबीसी न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन्। यदि पुष्टि भएमा यो दशकौँपछि शत्रुको आक्रमणबाट अमेरिकी लडाकु विमान खसालिएको पहिलो घटना हुनेछ।

अमेरिकी पक्षले युद्धको सुरुआती चरणमा चीनले इरानलाई स्टेल्थ विमान पत्ता लगाउन सक्ने लामो दूरीको प्रारम्भिक चेतावनी राडार पनि उपलब्ध गराएको हुन सक्ने अनुमान गरेको छ। यद्यपि उक्त सैन्य सामग्री कहिले हस्तान्तरण गरियो भन्ने स्पष्ट भइसकेको छैन।

यो घटनाले अमेरिका र चीनबीचको सम्बन्धलाई थप संवेदनशील बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग विभिन्न कूटनीतिक विषयमा सहकार्य खोजिरहेका बेला इरानले चिनियाँ हतियार प्रयोग गरेको दाबी सार्वजनिक भएको हो।

संघर्षका क्रममा खसालिएको एफ–१५ विमानका दुई सदस्यले सुरक्षित रूपमा इजेक्ट गरेका थिए। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार पाइलटलाई सात घण्टाभित्र उद्धार गरिएको थियो भने हतियार प्रणाली अधिकारीलाई इरानको जाग्रोस पर्वतीय क्षेत्रमा दुई दिनपछि फेला पारिएको थियो।

त्यसबेला ट्रम्पले विमान काँधबाट प्रहार गर्न सकिने मिसाइलबाट खसालिएको बताएका थिए। करिब सात फिट लामो र ४० पाउन्ड तौलका यस्ता म्यानप्याड्स कम उचाइमा उड्ने विमानविरुद्ध प्रभावकारी मानिन्छन्।

यता ह्वाइट हाउसले राष्ट्रपति सी चिनफिङले इरानलाई नयाँ सैन्य सामग्री नपठाउने आश्वासन दिएको जनाएको छ। ट्रम्पले पनि सीको प्रतिबद्धतामाथि विश्वास रहेको बताएका थिए।

तर चीनले भने सबै आरोप अस्वीकार गरेको छ। चिनियाँ दूतावासका प्रवक्ताले चीनले सैन्य सामग्री निर्यातमा अन्तर्राष्ट्रिय नियम र आफ्नै कानुनअनुसार कडा नियन्त्रण गर्ने तथा निराधार आरोपको विरोध गर्ने बताएका छन्।

अमेरिकी गुप्तचर निकायका अनुसार चीनले इरानलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको संकेत भेटिएको छ। साथै, गत महिना अमेरिकाले चीनले आफ्ना उपग्रहमार्फत इरानलाई अमेरिकी सेनामाथि निगरानी र लक्ष्य निर्धारणमा सहयोग गरेको आरोप लगाउँदै तीन चिनियाँ उपग्रह कम्पनीमाथि प्रतिबन्ध समेत लगाएको थियो।

यद्यपि अमेरिकी अधिकारीहरूले चीनबाट प्राप्त सहयोगले युद्धको नतिजा परिवर्तन गर्ने स्तरको प्रभाव नपारेको दाबी गरेका छन्।

चीन र इरानबीचको सैन्य सहकार्य नयाँ भने होइन। चीनले सन् १९८० र १९९० को दशकमा इरानलाई मिसाइल, ट्याङ्क, तोपखाना तथा लडाकु विमानसहित ठूलो मात्रामा हतियार बिक्री गरेको थियो। संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धपछि प्रत्यक्ष बिक्री घटे पनि चीनले प्रविधि, कम्पोनेन्ट तथा दोहोरो उपयोगका सामग्रीमार्फत इरानलाई सहयोग गर्दै आएको बताइन्छ।

 
 
सम्बन्धित समाचार