ट्रम्पको इरान नीति विरुद्ध अमेरिकी प्रतिनिधिसभा, युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित
1.3k
Shares
काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग सम्बन्धित युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार भएको मतदानमा प्रस्ताव २१५ विरुद्ध २०८ मतले अनुमोदन भएको हो। यसलाई ट्रम्प प्रशासनको इरान नीति र सैन्य कारबाहीप्रति अमेरिकी संसदभित्र देखिएको महत्वपूर्ण असहमतिका रूपमा हेरिएको छ।
प्रस्तावको पक्षमा रिपब्लिकन सांसद थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले आफ्नै पार्टीको आधिकारिक धारणा विपरीत मतदान गरेका थिए।
केन्टकीका रिपब्लिकन सांसद म्यासीले इरानविरुद्धको युद्धका लागि कांग्रेसको स्वीकृति नलिई ट्रम्पले सैन्य कारबाही अघि बढाएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन्। मतदानपछि उनले अमेरिकी जनता युद्धबाट दिक्क भइसकेको र इन्धन तथा मलको बढ्दो मूल्यको मार खेपिरहेको बताए।
यस्तै, पेन्सिलभेनियाका सांसद फिट्जप्याट्रिकले आफ्नो मतदान अमेरिकी कानुनअनुसार भएको बताउँदै युद्धसम्बन्धी निर्णय कांग्रेसमा ल्याएर छलफल र मतदान गरिनुपर्ने धारणा व्यक्त गरे।
न्युयोर्कका डेमोक्र्याट सांसद तथा प्रतिनिधिसभाको विदेश मामिला समितिका वरिष्ठ सदस्य ग्रेगरी मिक्सले प्रस्ताव पारित हुनु संविधानअनुसार कांग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गरेको उदाहरण भएको बताए। उनका अनुसार सबै डेमोक्र्याट सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए।
यो प्रस्ताव मे २१ मै मतदानका लागि ल्याउने तयारी भए पनि रिपब्लिकन नेतृत्वले अन्तिम समयमा स्थगित गरेको थियो। आवश्यक मत नपुग्ने सम्भावना देखिएपछि मतदान रोकिएको आरोप डेमोक्र्याट पक्षले लगाएको थियो।
प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले भने ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रयासले इरानसँग जारी शान्ति वार्तालाई कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। उनले प्रशासनलाई वार्ता सम्पन्न गर्न आवश्यक अधिकार दिनुपर्ने बताएका छन्।
बुधबार पारित भएको यो ‘कन्करेन्ट रिजोल्युसन’ प्रभावकारी हुन प्रतिनिधिसभा र सिनेट दुवैबाट अनुमोदन हुनुपर्नेछ। यद्यपि यसलाई राष्ट्रपतिको हस्ताक्षरका लागि पठाइँदैन। अमेरिकी कानुनी व्यवस्थाअनुसार यस्ता प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन्, तर डेमोक्र्याट पक्षले यसको कानुनी प्रभावबारे थप व्याख्या आवश्यक रहेको जनाएको छ।