परीक्षा अनियमितता भन्दै सिरहामा १ करोडभन्दा बढीका मोबाइल र स्मार्टवाच नष्ट
2.9k
Shares
काठमाडौँ । सिरहामा परीक्षा अनियमितता नियन्त्रण गर्ने भन्दै बरामद गरिएका करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाच सार्वजनिक रूपमा नष्ट गरिएको छ।
जिल्ला समन्वय समितिको रोहबरमा शिक्षा विकास तथा समन्वय इकाइको नेतृत्वमा गरिएको उक्त कार्यवाहीमा ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र ५ वटा स्मार्टवाच नष्ट गरिएको हो। उपकरणहरूको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएमा कडा कारबाही गर्ने र आवश्यक परे उपकरण नष्ट गर्ने निर्देशन दिएकी थिइन्। सोही निर्देशन तथा परीक्षा सञ्चालन निर्देशिका विपरीत मोबाइल प्रयोग भएको पाइएपछि समन्वय समितिको निर्णयअनुसार नष्ट गरिएको जनाइएको छ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमितिले उपकरण व्यवस्थापन गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका अधिकांश मोबाइल फोन पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरिएको थियो। ‘वाटरप्रुफ’ भनिएका उपकरणलाई समेत प्राविधिक रूपमा पुनः प्रयोग गर्न नमिल्ने बनाइएपछि मात्र नष्ट गरिएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको निर्णयअनुसार गरिएको स्पष्ट पारेका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा सुरक्षा चुनौती हुन सक्ने भन्दै नष्ट गर्नु उपयुक्त भएको तर्क गरेका छन्।
तर, सामाजिक सञ्जालमा भने यस कदमको व्यापक आलोचना भएको छ। कतिपयले जरिवाना तिराएर वा अभिभावकलाई फिर्ता दिनुपर्ने विकल्प हुँदा पनि उपकरण नष्ट गर्नु अनुचित भएको टिप्पणी गरेका छन्।
अभिभावकको मेहनतले किनिएको महँगो मोबाइल यसरी नष्ट गर्दा मानवीय संवेदनामा ध्यान नदिइएको भन्दै आलोचना बढेको छ।