भारतीय सत्ताविरुद्ध सामाजिक सञ्जालबाट सडकमा पुगे ‘कक्रोच’
1.7k
Shares
काठमाडौं । भारतमा बेरोजगारी र परीक्षा प्रणालीको अव्यवस्थाविरुद्ध सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान सामाजिक सञ्जालबाट सडक आन्दोलनमा रूपान्तरित भएको छ। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘कक्रोच’ र ‘परजीवी’ भन्दै दिएको टिप्पणीपछि व्यंग्यका रूपमा सुरु भएको अभियान अहिले हजारौं युवाको आवाज बनेको छ।
अमेरिकामा अध्ययनरत अभिजित दीपकेले मे १६ मा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ‘कक्रोच जनता पार्टी’ गठनको घोषणा गरेका थिए। केही दिनमै अभियानले लाखौं समर्थक र करोडौं सामाजिक सञ्जाल फलोअर्स जुटाएको बताइएको छ।
दीपके शुक्रबार भारत फर्किएपछि नयाँ दिल्लीको जन्तर–मन्तरमा पहिलो सडक प्रदर्शन आयोजना गरिएको थियो। आन्दोलनको मुख्य माग शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र बारम्बार भइरहेका परीक्षा प्रश्नपत्र चुहावटको अन्त्य हो। प्रदर्शनमा विद्यार्थी तथा युवाको उल्लेख्य सहभागिता देखिएको थियो।
लद्दाखका वातावरण तथा शिक्षा अभियन्ता सोनाम वाङचुक, अभिनेता प्रकाश राज तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। शिवसेना प्रमुख उद्धव ठाकरेले युवाहरूको आवाजलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा ‘हिन्दू–मुस्लिम राजनीति बन्द गर’ लगायतका नारासमेत सुनिएका थिए। आन्दोलनमा सहभागी युवाहरूले धार्मिक विभाजनभन्दा रोजगारी, शिक्षा र भविष्यसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएका छन्।
विश्लेषकहरूका अनुसार युवामाझ बढ्दो असन्तुष्टि, बेरोजगारी र महँगीका कारण यो अभियान भारतीय राजनीतिमा नयाँ चुनौतीका रूपमा देखिन थालेको छ।