पोखरा बसपार्क खाली गर्न थाले सुकुमवासी, ५० भन्दा बढी घरटहरा भत्काइए

1.9k Shares

लेखनाथ । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क क्षेत्रका सुकुमवासीहरूले आफैं आफ्ना घरटहरा हटाउन थालेका छन्। महानगरपालिकाले स्वेच्छाले संरचना हटाउन दिएको समयसीमा आइतबार सकिने भएकाले शनिबारसम्म ५० भन्दा बढी परिवारले घरटहरा भत्काइसकेका छन्।

पृथ्वीचोकमा बसपार्क निर्माणका लागि करिब पाँच दशकअघि अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये हाल करिब २६ रोपनी मात्र खाली रहेको छ। बाँकी क्षेत्रमा ५७५ सुकुमवासी परिवारका टहरा रहेका छन् भने केही जग्गा सट्टाभर्नामा दिइएको छ।

सुकुमवासी व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले गठन गरेको जग्गा खोजी समितिले पोखरा–११ रामघाट, वडा नम्बर १४ बाच्छेबुडुवा, वडा नम्बर १५ मजुवा, वडा नम्बर २१ दोबिल्ला र वडा नम्बर २५ हेमजालगायतका स्थानमा वैकल्पिक व्यवस्थापन गर्न सकिने सुझाव दिएको छ।

महानगरले बसपार्क र फिर्के कोरिडोर क्षेत्रका करिब ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। भूमिहीन दलित र सुकुमवासीलाई पुनःस्थापना गरिने तथा अव्यवस्थित बसोवासीलाई हटाइने योजना रहेको महानगरले जनाएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक सम्पत्तिको संरक्षणसँगै नागरिकको अधिकारको सम्मान गर्ने दायित्व सरकारको भएको बताउँदै प्रभावित परिवारलाई उचित व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो। उहाँले वैकल्पिक स्थानमा आवश्यक पूर्वाधारसहित नयाँ बस्ती निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।

बसपार्कको जग्गा बिक्री–वितरणसम्बन्धी विषयमा न्यायिक छानबिनपछि निर्णय गरिने बताउँदै प्रमुख आचार्यले बसपार्क निर्माण अभियानमा अवरोध नगर्न आग्रह गर्नुभयो।

२०३२ सालदेखि सुरु भएको पोखराको बसपार्क निर्माण योजना पाँच दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। अहिले बसपार्क क्षेत्र खाली गराउने अभियानसँगै लामो समयदेखि रोकिएको योजना कार्यान्वयनतर्फ अघि बढेको छ।

 

सम्बन्धित समाचार