काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा जारी खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङबाट खेलको सुरुवात गरेको हो।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको विजेताले उपाधिनजिक पुग्ने अवसर प्राप्त गर्नेछ।
समूह चरणका दुवै खेलमा प्रभावशाली जित निकालेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। नेपालले पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
यसअघि नै एसियन गेम्सका लागि स्थान सुरक्षित गरिसकेको नेपाल अब छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित ओमानविरुद्ध मैदानमा उत्रिएको हो।
प्रतियोगिताको नियमअनुसार सेमिफाइनलमा पुगेका चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट सुनिश्चित गरेका छन्।