काठमाडौं । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्याएको आरोप लगाउँदै दुई इरानी ड्रोनलाई गोली हानी खसाएको जनाएको छ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले शनिबार उक्त कारबाही गरेको हो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि आवश्यक कदम चालिएको जनाएको छ।
सेन्टकमले इरानबाट हुन सक्ने सम्भावित आक्रमणविरुद्ध आफूहरू निरन्तर तयारी अवस्थामा रहेको पनि उल्लेख गरेको छ। यसअघि शुक्रबार मात्रै अमेरिकी सेनाले चारवटा ड्रोन खसालेको दाबी गरेको थियो।
अमेरिका–इरान तनाव बढिरहेका बेला यो घटनाले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषण गरिएको छ। कुवेत र बहराइनतर्फ इरानबाट गोली प्रहार भएको दाबी सार्वजनिक भएको भोलिपल्ट अमेरिकी कारबाही भएको हो।
वाशिङ्टन र तेहरानबीच कायम कमजोर युद्धविराममाथि पछिल्ला घटनाले थप दबाब सिर्जना गरेको छ। यसैबीच, शान्ति वार्तालाई पुनर्जीवित गर्ने प्रयासस्वरूप पाकिस्तानी मध्यस्थकर्ताहरू इरानमा सक्रिय रहेको बताइएको छ।
उता, लेबनानी सेनाका अनुसार शनिबार इजरायली आक्रमणमा एक जनरलसहित केही लेबनानी सैनिक मारिएका छन्। इजरायलले भने आफ्नो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित रहेको जनाएको छ।