तेहरान । अमेरिकासँगको बढ्दो तनावका कारण इरान राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू मानसिक दबाबमा परेको खुलेको छ। विश्वकप तयारीका क्रममा टर्कीमा रहेका खेलाडीहरूले देशको राजनीतिक अवस्था आफूहरूको मानसिकतामा प्रत्यक्ष असर पारिरहेको बताएका छन्।
मिडफिल्डर सईद एजातोलाहीले अवस्था सहज नभएको भन्दै खेलाडीहरू निरन्तर देशको समाचारसँग जोडिएर बस्नुपरेको बताएका छन्। उनले खेल र राजनीतिक तनावबीच सन्तुलन मिलाउन कठिन भइरहेको प्रतिक्रिया दिएका छन्।
टोलीका अनुसार, भिसा प्रक्रिया ढिलाइका कारण तयारी शिविर अमेरिका (एरिजोना) बाट मेक्सिकोको टिहुआनामा सार्नुपरेको थियो। हाल इरान टिम टर्कीको एन्टालियामा अभ्यास गरिरहेको छ र सबै खेलाडीको प्रवेश अनुमति प्रक्रिया पूरा भइसकेको जनाएको छ।
इरानले अब मेक्सिकोमा प्रशिक्षण जारी राख्दै आगामी खेलका लागि तयारी गर्नेछ। टोलीले जुन १४ सम्म अमेरिका प्रवेश गर्नुपर्ने छैन भने त्यसपछि लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्नेछ।
खेलाडी एजातोलाहीले ठूलो इरानी समुदाय रहने लस एन्जलसमा खेल्दा अपेक्षा र दबाब दुवै उच्च हुने बताएका छन्। उनले टोलीको लक्ष्य देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने रहेको स्पष्ट पारे।
पहिलो पटक विश्वकप खेलिरहेका युवा मिडफिल्डर मोहम्मद घोरबानीले पनि वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि टोली एकताबद्ध रहेको बताएका छन्। उनका अनुसार खेलाडीहरू देशलाई खुसी दिन सक्ने विश्वासका साथ तयारीमा केन्द्रित छन्।