मुस्ताङ । चीनको स्वायत्त क्षेत्र तिब्बतको झोङ्बा काउन्टी हुँदै लिजी–नेचुङ (कोरला) नाका भएर भित्रिएका विद्युतीय सवारीसाधन (ईभी) मा अनियमितताको आशंका बढेपछि भन्सार कार्यालय मुस्ताङका कर्मचारीमाथि विभागीय अनुसन्धान सुरु गरिएको छ।
भन्सारबाट जाँचपास भइसकेका बीवाईडी ब्रान्डका ७७४ वटा ईभी गाडी भन्सार छलीको शंकामा सशस्त्र प्रहरी बलको निर्देशनमा विभिन्न सुरक्षा निकायले नियन्त्रणमा लिएपछि घटनाले संघीय सरकार र भन्सार विभागसम्म व्यापक चर्चा पाएको छ।
सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूले मुस्ताङको नं. ३३ गुल्म, म्याग्दीको गलेश्वर गुल्म, पर्वतको नं. २५ चण्डिका गण र कास्कीको नं. २४ कालिका गणमार्फत ती सवारीसाधन नियन्त्रणमा लिएका हुन्। यस घटनापछि भन्सार कार्यालयका कर्मचारीमाथि समेत छानबिन सुरु गरिएको बताइएको छ।
व्यावसायिक सञ्चालनमा आएको छोटो समयमै कोरला नाका लगातार अवैध गतिविधिका कारण विवादमा तानिएको छ। यसै आर्थिक वर्षमा नाकाबाट नक्कली प्रज्ञापनपत्र प्रयोग गरी लुकाइछिपाइ लैजान खोजिएको ठूलो परिमाणको ‘भेप’ (विद्युतीय चुरोट) समेत नियन्त्रणमा लिइएको थियो। त्यस्तै, महँगा जुत्ता, मोजा तथा कपडासहितका अन्य सामान पनि बरामद गरिएको थियो।
यसअघि पनि यही नाकाबाट पटक–पटक ठूलो परिमाणमा भेप बरामद भएको घटनाले सुरक्षा र भन्सार जाँच प्रक्रियामाथि प्रश्न उठाउँदै आएको छ। कोरला नाकाबाट करिब १४ किलोमिटर तलसम्म भन्सार, बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी जाँच पार गरेर सामान अगाडि बढेको पाइएपछि प्रज्ञापनपत्र जाँच प्रणाली नै कमजोर भएको आशंका गरिएको छ।
लगातारका घटनापछि चिनियाँ पक्षले समेत सीमा क्षेत्रमा निगरानी बढाएको र अवैध गतिविधिबारे चासो व्यक्त गरेको बताइएको छ। हालै लोमन्थाङमा सम्पन्न सीमा सुरक्षा बैठकमा दुवै देशबीच सूचना आदान–प्रदान र सुरक्षा समन्वय बलियो बनाउने विषयमा छलफल भएको थियो।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले कोरला नाकालाई अवैध गतिविधिबाट मुक्त बनाउन दुवै देशबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै सूचना आदान–प्रदानलाई अझ सुदृढ बनाउने सहमति भएको जानकारी दिएकी छिन्।
स्थानीय व्यवसायीहरूले भने यस्ता घटनाले कोरला नाकाको दीर्घकालीन व्यापारिक सम्भावनामा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। केही व्यवसायीले ठूला व्यापारीहरूको मिलेमतो (सेटिङ) का कारण समस्या दोहोरिने गरेको आरोप समेत लगाएका छन्।
कोरला नाका मुस्ताङलाई चीनसँग जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग हो, जसलाई भारत–चीन जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गमध्ये एक मानिन्छ। ४ हजार ६५० मिटर उचाइमा रहेको यो नाका लामो समय बन्द रहेपछि सन् २०८० कात्तिक २७ गते औपचारिक रूपमा पुनः सञ्चालनमा आएको हो।
भन्सार कार्यालयका अनुसार हालसम्म कोरला नाकाबाट अर्बौँ रुपैयाँको व्यापार र ठूलो मात्रामा राजस्व संकलन भएको छ। तर पछिल्ला विवादित घटनाले नाकाको सुरक्षा र व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।