इरानको चेतावनी : होर्मुज जलडमरूमध्यबारे अन्तिम निर्णय इरानकै हुने
2.2k
Shares
एजेन्सी । इरानको संसदअन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सम्बन्धी अन्तिम निर्णय इरानले नै गर्ने बताएका छन् ।
अमेरिकासँग जारी वार्ताबीच सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले होर्मुज जलडमरूमध्य इरानी सार्वभौमिकताको प्रतीक भएको उल्लेख गरेका छन् ।
अजीजीले अमेरिकालाई लक्षित गर्दै लेखेका छन्, “तिमीहरू धम्की देऊ, हामी कारबाही गर्छौ । होर्मुज जलडमरूमध्य न त तिम्रो व्यक्तिगत क्यासिनो हो, न त आधुनिक समुद्री डाकुहरूको अड्डा ।” उनका अनुसार जलडमरूमध्यबारे अन्तिम निर्णय इरानी जनता र देशको सेनाले गर्नेछ, र यो विषय राष्ट्रिय सार्वभौमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
यसअघि क्षेत्रीय तनाव र लेबनानमा बढ्दो अस्थिरताबीच इरानले होर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने संकेत दिएको थियो। तर अमेरिकाले उक्त दाबी अस्वीकार गर्दै जलमार्ग सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
विश्वको अत्यन्त महत्वपूर्ण ऊर्जा व्यापार मार्ग मानिने होर्मुज जलडमरूमध्यबाट दैनिक ठूलो मात्रामा कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्न सक्ने विश्लेषण गरिएको छ ।