सेवाग्राहीलाई प्राथमिकता दिन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

1.3k Shares

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आज नेपाल टेलिकम भरतपुर कार्यालयको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्दै सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले विगतमा सरकारी कार्यालयमा सेवा लिन जाँदा लामो समय कुर्नुपर्ने गुनासो आउने गरेको उल्लेख गर्दै अहिलेको समयअनुसार सेवाप्रवाह सुधार गर्न आवश्यक रहेको बताए ।

मन्त्री तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ। हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईँहरूले सोहीअनुसार काम गर्नुपर्छ ।”

उनले थप भने, “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, त्यसैले सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ ।” निरीक्षणका क्रममा उनले नेपाल टेलिकमको कार्यालय व्यवस्थापन, भवनलगायतका समस्या तथा सेवा सुधारका विषयमा कर्मचारीसँग छलफल गरेका थिए ।

नेपाल टेलिकमको पुनःसंरचना, कर्मचारीको वृत्ति विकास, आवश्यक उपकरण तथा अन्य समस्याबारे भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरूले मन्त्रीसमक्ष जानकारी गराएका थिए ।

सम्बन्धित समाचार