तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको तयारी, प्राविधिक टोली चौबिसै घण्टा खटिने

911 Shares

काठमाडौं । तिहार तथा छठ पर्वका समयमा विद्युत् आपूर्तिमा कुनै समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ । पर्वका बेला विद्युत्को माग बढ्ने अनुमान भए पनि आन्तरिक उत्पादनबाटै माग पूरा गर्न सकिने प्राधिकरणले जनाएको छ ।

विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई नियमित र व्यवस्थित राख्न प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको छ । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न सम्बन्धित कर्मचारी तथा प्राविधिक टोलीलाई २४ घण्टा तयारी अवस्थामा राखिने भएको छ ।

विद्युत् आपूर्ति व्यवस्थापनबारे प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठकसमेत बसेको थियो । बैठकमा पर्व अवधिको विद्युत् माग, आपूर्ति व्यवस्थापन, प्रणाली सञ्चालन तथा सम्भावित चुनौती समाधानका विषयमा छलफल गरिएको थियो ।

त्यस्तै, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण र ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन आवश्यक तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न पनि निर्देशन दिइएको छ ।

प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही अवधिमा विद्युत् उत्पादन भने करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । यसले आन्तरिक मागभन्दा उत्पादन बढी रहने देखिएको प्राधिकरणको भनाइ छ ।

विद्युत् आपूर्तिको अवस्था निरन्तर अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच समन्वय गरिनेछ । साथै, विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न तथा नो लाइट सेवामा आउने फोन नियमित रूपमा उठाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

यसैबीच, प्राधिकरणले तिहार र छठ पर्वमा विद्युतीय सामग्रीको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने तार तथा विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार