एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् । उज्बेकिस्तानविरुद्धको खेलमा गोल गर्दै उनी लगातार छ संस्करणको फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
४१ वर्षीय रोनाल्डोले खेलको सुरुआतमै गोल गर्दै सन् २००६ देखि २०२६ सम्मका सबै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए । उनले यसअघि २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि गोल गरेका थिए ।
ह्युस्टनमा भएको समूह ‘के’ को खेलमा जोआओ कान्सेलोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए । यो उनको पोर्चुगलका लागि अन्तर्राष्ट्रिय फुटबलमा १४४औँ गोल थियो ।
रोनाल्डो विश्वकपका छ संस्करणमा सहभागी हुने दोस्रो पुरुष खेलाडीसमेत हुन् । उनीअघि अर्जेन्टिनाका लियोनल मेस्सीले उक्त उपलब्धि हासिल गरेका थिए ।
सन् २०२२ को विश्वकपमा घानाविरुद्ध गोल गर्दै पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले यसपटक आफ्नै कीर्तिमानलाई थप विस्तार गरेका हुन् ।