रास्वपाको दाबी : सरकारले गरिरहेका यी हुन् १० महत्त्वपूर्ण काम
1.6k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले केही महत्त्वपूर्ण क्षेत्रमा उल्लेखनीय काम गरिरहेको दाबी गरेको छ।
चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘विश्वास रोपिरहेको र आशा जगाइरहेको सरकार’ शीर्षकअन्तर्गत सरकारले गरिरहेका १० प्रमुख काम उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सरकारले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, दण्डहीनताको अन्त्य, उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन, संविधान संशोधनका लागि छलफलको सुरुआत, सहकारी क्षेत्रको सुधार, बिचौलियाको प्रभाव नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा काम गरिरहेको दाबी गरिएको छ।
यस्तै, अव्यवस्थित बसोबासीको समस्या समाधान, लालपुर्जा वितरणको तयारी तथा लामो समयदेखि रोकिएका विकास आयोजनालाई गति दिने काम पनि सरकारका उपलब्धिका रूपमा प्रतिवेदनमा समेटिएको छ।
रास्वपाले यी प्रयासहरूले नागरिकमा आशा र विश्वास बढाउन मद्दत पुगेको उल्लेख गर्दै राज्यका निकायलाई थप जवाफदेही र प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको दाबी गरेको छ।
पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत उक्त प्रतिवेदनमाथि आगामी कार्यदिशा र नीतिगत प्राथमिकताबारे समेत छलफल भइरहेको छ।