कूटनीतिमा महिलाको भूमिका विश्वभर मनाइँदै, समावेशी नेतृत्वमा जोड

1.8k Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार महिलाहरू कूटनीतिमा केवल सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर र विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् । उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्वले आजका जटिल विश्व चुनौती समाधान गर्न र समावेशी तथा दिगो समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको मात्र विषय नभई प्रभावकारी विश्व शासनका लागि आधारभूत आवश्यकता भएकोमा राष्ट्रसङ्घले जोड दिएको छ । यसलाई बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको कार्यान्वयनसँग पनि जोडेर हेरिएको छ ।

महिलाहरू निर्णय तहमा सहभागी हुँदा कूटनीति जनताको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र शान्ति, विकास तथा मानव मर्यादालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ ।

विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था र अन्तर्राष्ट्रिय वार्तामा महिलाहरूले संवाद, सहमति निर्माण र द्वन्द्व समाधानमा निरन्तर योगदान दिँदै आएका छन् । तर अझै पनि उच्च तहमा महिलाको प्रतिनिधित्व न्यून रहेको र संरचनात्मक तथा सांस्कृतिक अवरोध कायम रहेको राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले महिलाको पूर्ण र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने भन्दै निर्णय प्रक्रियामा उनीहरूको समावेशीकरण अनिवार्य भएकोमा जोड दिनुभएको छ ।

 
 
सम्बन्धित समाचार