काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा पाँच वटा विधेयक प्रस्तुत गरिने भएको छ। बैठकको प्रमुख कार्यसूचीमा आर्थिक विधेयक, २०८३ पारित गर्ने विषय रहेको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्रीले आर्थिक विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ। यससँगै विनियोजन विधेयकसँग सम्बन्धित अन्य वित्तीय प्रस्तावहरू पनि अघि बढाइने भएका छन्।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित थप चार विधेयक पनि प्रस्तुत गरिने कार्यसूची छ। ती विधेयकमाथि सैद्धान्तिक छलफल, आवश्यक प्रस्ताव र निर्णय प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था समयमै टुङ्ग्याउने उद्देश्यसहित आर्थिक तथा वित्तीय विधेयकलाई प्राथमिकताका साथ अघि बढाएको छ।