काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि पश्चिमी तराईका जिल्लामा तातो हावाको लहर (हिटवेभ) कायम रहने र गर्मी थप बढ्न सक्ने जनाएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार नेपालगञ्जमा आज अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस र धनगढीमा ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा ३५ देखि ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना छ।
विभागले अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसो अनावश्यक रूपमा घरबाहिर ननिस्कन, प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न, हल्का तथा सुतीका कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
यता कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।