पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित गुराँस टोलीका बासिन्दाले चार दशकभन्दा बढी समयदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा नपाएको भन्दै न्यायको माग गरेका छन्। स्थानीयका अनुसार आफूहरूले जोतभोग गर्दै आएको करिब ९ बिघामध्ये ३ बिघा जग्गा अवैध रूपमा अन्य व्यक्तिको नाममा दर्ता गरिएको खुलेपछि उनीहरू कानुनी लडाइँमा उत्रिएका छन्।
स्थानीयका अनुसार वि.सं. २०३४ सालमा ‘राजनीतिक पीडित’का लागि छुट्याइएको उक्त जग्गामा २०३६ सालदेखि बसोबास सुरु भएको थियो। हाल उक्त बस्तीमा करिब १०० घरधुरी बसोबास गर्दै आएका छन्।
लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका स्थानीयले २०४५/०४६ सालतिर करिब ३ बिघा जग्गा केही व्यक्तिले आफ्नो नाममा दर्ता गरी लालपुर्जा लिएको तथ्य थाहा पाएपछि आक्रोशित बनेका छन्।
९६ वर्षीय शिवजङ्ग बेगटीले झाडी फाँडेर बसोबासयोग्य बनाएको जग्गाको लालपुर्जा अझै हात पार्न नसकेको गुनासो गर्नुभयो। उहाँले जीवनको अन्तिम समयमा आफ्नै नामको लालपुर्जा हेर्ने चाहना रहेको बताउनुभयो।
स्थानीय दलबहादुर विकले आफूहरूले दशकौँदेखि जोत्दै आएको जग्गा अर्कैको नाममा दर्ता हुनु अन्याय भएको भन्दै अवैध दर्ता तत्काल बदर गर्न माग गर्नुभयो।
भोजराज पोखरेलका अनुसार बाँकी करिब ६ बिघा जग्गाको फिल्डबुक र सरकारी स्रेस्ता नै कायम नभएकाले वास्तविक जोतभोगी अन्योलमा परेका छन्। उहाँले चोरी दर्ता बदर गरी वास्तविक भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन कानुनी प्रक्रिया अघि बढाउने बताउनुभयो।
स्थानीयले अवैध रूपमा गरिएको जग्गा दर्ता बदर गर्न र दशकौँदेखि जोतभोग गर्दै आएका वास्तविक बासिन्दालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
यस विषयमा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले प्रभावित बस्तीका बासिन्दासँग छलफल गरी अवैध दर्ता बदरका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
यस्तै, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले स्थानीय सरकार पीडितको पक्षमा रहेको बताउँदै अवैध दर्ता बदर गर्ने र वास्तविक जोतभोगीलाई लालपुर्जा दिलाउने प्रक्रियामा आवश्यक सहजीकरण गर्ने बताउनुभयो।
वर्षौँदेखि आफ्नै जोतभोगको जग्गामा लालपुर्जाविहीन बनेका गुराँस टोलीका बासिन्दा जनप्रतिनिधिको पहलपछि न्याय र स्वामित्व प्राप्त हुने आशामा छन्।