मौलिक खेलको संरक्षण गर्न बाघचाल प्रतियोगिता सुरु

3k Shares

काठमाडौं, असार १४ । नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित '"प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बाघचाल प्रतियोगिता आइतबारदेखि काठमाडौंको सिफलस्थित टेक्सास कलेजको हलमा सुरु भएको छ।

प्रतियोगितामा देशभरबाट २६ जना खेलाडी सहभागी भएका छन्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने आयोजक नेपाल अल स्पोर्ट्स हबले जनाएको छ।

नेपालको मौलिक बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दीयौँदेखि खेलिँदै आएको रणनीतिक खेल हो। काठ वा ढुंगामा कुँदिएको विशेष बोर्डमा चार वटा बाघ र २० वटा बाख्राको गोटी प्रयोग गरी खेलिने यो खेलले बुद्धि, धैर्य, योजना निर्माण र रणनीतिक क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।

 

908141f8-a5ea-45de-859b-befdb2bc812a.jpeg

ग्रामीण बस्तीदेखि मठमन्दिर, चौतारा र सार्वजनिक स्थलसम्म लोकप्रिय रहेको बाघचाल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावसँगै ओझेलमा पर्दै गएको छ।

यही मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रियस्तरमा मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत बाघचाललाई समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले ७ हजार रुपैयाँ, दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

आयोजकका अनुसार मौलिक खेलहरूको संरक्षण र पुस्तान्तरणका लागि आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइनेछ।

0f4905c2-47d7-4fbd-947a-4df614b8e5a9.jpeg

सम्बन्धित समाचार