काठमाडौं । वामपन्थी एकताको बहस चलिरहेका बेला नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बारम्बार फुटेको हाँडी फेरि जोड्ने प्रयासजस्तै गरी वामएकताको रटान लगाइएको टिप्पणी गरेका छन्।
उनले वामएकताको नारालाई नेतृत्वले आफ्नो असफलता ढाकछोप गर्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको ‘भुत्ते हतियार’को संज्ञा दिएका छन्। सुधार र संगठनलाई बलियो बनाउने वास्तविक इच्छा भए विगतमा पार्टी फुटाउनु गल्ती भएको स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
बाँस्कोटाले नेतृत्वलाई लक्षित गर्दै, ‘आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’ भन्दै प्रश्नसमेत गरेका छन्। आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न कम्युनिस्ट दलका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याएका थिए। उक्त अभिव्यक्तिप्रति एमाले महासचिव शंकर पोखरेलले पनि असन्तुष्टि जनाइसकेका छन्।