काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी, सवारीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लङ्घन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी प्रवेश गराउने ३२ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ५८ जनामाथि पनि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक अनुशासन कायम गराउन नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि नियमित र कडाइका साथ कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ।