पेनाल्टीमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा

2.4k Shares

मोन्टेरे । मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सले ७२औँ मिनेटमा कोडी गाक्पोको गोलबाट अग्रता बनाएको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा इशा डियोपले उत्कृष्ट हेडमार्फत बराबरी गोल फर्काएपछि मोरक्कोले खेललाई अतिरिक्त समयमा पुर्‍याएको थियो ।

अतिरिक्त समयमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा दुवै टोलीका खेलाडीले दबाब महसुस गरेपछि पाँच प्रहार गोल हुन सकेनन् । मोरक्कोका कप्तान अशरफ हाकिमीले पोस्टमा प्रहार गरे भने नेदरल्यान्ड्सका युरियन टिम्बर र क्रिसेन्सियो समरभिलको प्रहार असफल भयो ।

निर्णायक पेनाल्टीमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई ३–२ को रोमाञ्चक जित दिलाए। गोलरक्षक यासिन बोनोले पनि महत्वपूर्ण बचाउ गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।

यस जितसँगै मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब उसले क्वार्टरफाइनल प्रवेशका लागि आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। उता, समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको नेदरल्यान्ड्स भने नकआउट चरणको पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार