काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काममा लापरवाही गर्ने निर्माण व्यवसायीको ठेक्का तत्काल रद्द गर्न निर्देशन दिएका छन् । उनले समयमै काम गरिरहेका निर्माण व्यवसायीलाई भने छिटोछरितो रूपमा काम सम्पन्न गर्न आवश्यक वातावरण मिलाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
मुस्ताङस्थित कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाको कार्यालयमा आयोजित छलफलमा मन्त्री लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै यस आर्थिक वर्षभित्रै कोरलानाकासम्मको सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिए । उनले बजेट अभावका कारण कुनै पनि काम रोकिन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले कोरला सडक कालोपत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई मन्त्रालयमा बोलाएर आवश्यक निर्णय गरिने बताए । वातावरणीय प्रभाव मूल्यांकन गर्न बाँकी रहे तत्काल सम्पन्न गर्न तथा अन्य प्रशासनिक अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।
मन्त्री लम्सालले सडक, पुल तथा अन्य आवश्यक पूर्वाधारका सबै ठेक्का यही वर्ष खोल्दै कालीगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । उनले आयोजना प्रमुखहरूलाई सम्बोधन गर्दै भने, “काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नुस् र काम गरिरहेकालाई छिटोछरितो रूपमा काम गर्ने वातावरण मिलाउनुस् ।”
निरीक्षणका क्रममा उनले कोरला सडकअन्तर्गत म्याग्दी खण्डको ‘अलाइनमेन्ट’ पुनरावलोकन आवश्यक भए त्यसबारे अध्ययन गर्न तथा दीर्घकालीन रूपमा दिगो पूर्वाधार निर्माण हुने गरी योजना अघि बढाउन निर्देशन दिए । भविष्यमा चार लेन विस्तारको सम्भावनालाई ध्यानमा राख्दै बस्ती भएका क्षेत्रमा आवश्यक परे वैकल्पिक मार्ग (डाइभर्सन) अपनाउनुपर्ने उनको सुझाव थियो ।