तेस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान
1.7k
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ–चैत) मा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको छ। सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो अनुमान मौसमी प्रभाव समायोजन नगर्दाको अवस्थामा गरिएको हो।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम सङ्कलन तथा व्यापार सेवाजस्ता क्षेत्रमा देखिएको विस्तारले आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ। तर सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रमा भने ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्माण सामग्रीको आयात, धान उत्पादन तथा केही स्वदेशी वस्तुको उत्पादन घटेकाले समग्र आर्थिक वृद्धिदर सामान्य रहने कार्यालयको भनाइ छ।
औद्योगिक क्षेत्रमध्ये विद्युत् तथा ग्याससम्बन्धी गतिविधिमा सबैभन्दा उच्च २४.८८ प्रतिशत मूल्य अभिवृद्धि हुने अनुमान गरिएको छ। त्यसपछि वित्तीय तथा बिमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक–खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ।
कृषि क्षेत्रको मूल्य अभिवृद्धि दर भने १.५८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई केही राहत दिने कार्यालयले जनाएको छ।
अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत रहने अनुमान गरिएको छ। स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारण यस क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको हो।
यता सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।
कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन गर्दा सात वटा औद्योगिक क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिनेछ। यस्तो अवस्थामा तेस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ०.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।