दक्षिण कोरियाको ई–सेभेन भिसामा म्यानपावरमार्फत श्रमिक पठाउने प्रक्रिया पुनः सुरु
1.5k
Shares
काठमाडौँ । दक्षिण कोरियाको ई–सेभेन (E-7) भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः अघि बढ्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गर्दै आवश्यक कूटनीतिक प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेका अनुसार नेपालस्थित दक्षिण कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट र उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशका आधारमा ई–सेभेन भिसामा श्रमिक पठाउने निर्णय गरिएको हो ।
उहाँका अनुसार मन्त्रालयले यससम्बन्धी कार्यविधि पहिल्यै तयार गरिसकेको छ र आवश्यक प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको छ। दक्षिण कोरियास्थित नेपाली दूतावासलाई औपचारिक जानकारी पठाइएपछि रोजगारदाताबाट श्रमिकको माग ल्याउने प्रक्रिया सुरु हुनेछ ।
श्रम मन्त्रालयले ‘दक्षिण कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ लागू गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि प्रक्रिया रोकिएको थियो। त्यसविरुद्ध वैदेशिक रोजगार व्यवसायीहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएपछि मन्त्रालयले पुनः ई–सेभेन भिसामार्फत म्यानपावर कम्पनीबाट श्रमिक पठाउने निर्णय गरेको हो ।
हाल दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत अदक्ष श्रमिक मात्र पठाइँदै आएको छ। नयाँ व्यवस्थाअनुसार भने ई–सेभेन भिसाबाट सिपयुक्त तथा दक्ष जनशक्ति दक्षिण कोरिया पठाइनेछ ।
कार्यविधिको प्रारम्भिक व्यवस्थामा कोरियन भाषा र आवश्यक सीप भएका श्रमिकलाई निःशुल्क पठाउने उल्लेख थियो । तर तेस्रो संशोधनपछि श्रमिकको काम र आम्दानीको आधारमा सेवा शुल्क लिन सकिने व्यवस्था गरिएको छ। रोजगारदाताले लागत नबेहोर्ने र श्रमिक स्वयंले खर्च व्यहोर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ ।
यद्यपि कार्यविधिअनुसार ई–सेभेन भिसामा दक्षिण कोरिया जाने श्रमिकबाट लिइने शुल्क रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लाग्ने शुल्कभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै, ई–सेभेन भिसामार्फत पठाउनका लागि एक सय प्रकारका पेशा तथा कामको सूचीसमेत तयार गरिएको छ ।