पारिश्रमिकको विवादमा खुकुरी प्रहार, खोटाङमा एक जनाको हत्या आरोपमा तीन पक्राउ
1.2k
Shares
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको घटनामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहीबार भएको घटनामा ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार मुख्य आरोपित तीलकबहादुरलाई घटनालगत्तै नियन्त्रणमा लिइएको थियो भने मृतकका आफन्तले किटानी जाहेरी दिएपछि शुक्रबार उनकी श्रीमती र छोरीलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक ध्रुव अधिकारी तीलकबहादुर सार्कीको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएका बेला दुई पक्षबीच विवाद भएको थियो । सोही क्रममा तीलकबहादुरले खुकुरी प्रहार गर्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि तीलकबहादुर स्वयंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीका अनुसार मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबारसम्बन्धी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ । मृतक अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।