मोरङमा प्रहरीको दुई राउन्ड फायर, दुई भारतीय नागरिक पक्राउ; १०० किलो गाँजा बरामद

1.5k Shares

विराटनगर । मोरङमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । बिहीबार राति रतुवामाई नगरपालिका–५, गोबिन्दपुरस्थित बक्राहा खोलाको बगरमा भएको घटनामा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने अर्का एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गोली लागेर भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । उनीसँगै रहेका भारतको अररिया जिल्ला महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे सोही स्थानको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो । त्यस क्षेत्रमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली गस्तीमा खटिएको थियो ।

राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका केही व्यक्तिसँग प्रहरीको जम्काभेट भएको थियो । उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि पनि उनीहरू नरोकी भाग्न खोजेपछि प्रहरीले अर्को गोली चलाएको थियो । उक्त गोली चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका चौधरी र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट करिब १०० किलो गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

घाइते चौधरीको अवस्था सामान्य रहेको र घटनामा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन् ।

यसअघि सोही क्षेत्रमा ठूलो परिमाणमा गाँजा बरामद भएको र त्यसपछि पुनः कारोबार हुन सक्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले गाँजाको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू तथा घटनाको थप विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार