भोजपुरको दुर्गम बस्तीमा बिजुली पुगेपछि दैनिकी सहज, उद्यममा पनि टेवा

1.3k Shares

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो।

विद्युत् सेवा विस्तारसँगै स्थानीयवासी इन्टरनेट, टेलिभिजनलगायतका सुविधामा जोडिन थालेका छन्। भौगोलिक रूपमा ठूलो क्षेत्रमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि यसअघि सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका नागरिकलाई राहत मिलेको छ।

स्थानीय बलबहादुर राईका अनुसार विद्युत् सेवाले बालबालिकाको पढाइदेखि घरायसी कामकाज र साना उद्योग सञ्चालनसम्म सहज बनाएको छ। यसअघि बिजुलीको अभावमा बालबालिकालाई अध्ययन गर्न तथा स्थानीय उत्पादनको कुटानीपिसानी गर्न समस्या हुने गरेको थियो।

विद्युत् विस्तारपछि स्थानीयवासीले विद्युतीय मिलबाट कुटानीपिसानी गर्न थालेका छन्। यसले परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत गरेको छ। त्यस्तै, फर्निचरलगायतका घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन र आयआर्जनका गतिविधिमा समेत सहयोग पुगेको वडाले जनाएको छ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा सीमित बजेटबाट पनि परिणाममुखी काम गर्न सफल भएको बताए। भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्‍याउन चुनौती रहे पनि स्थानीयको आवश्यकताका आधारमा काम अघि बढाइएको उनको भनाइ छ।

विद्युत् सेवाको विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सूचना तथा सञ्चार प्रविधिको पहुँच बढाउन सहयोग पुगेको छ। यसले स्थानीयस्तरमा घरेलु उद्योग तथा उद्यम विकासका नयाँ सम्भावनासमेत सिर्जना गरेको छ।

दुर्गम बस्तीमा विद्युत् पहुँच विस्तार भएपछि स्थानीयवासीको दैनिक जीवन सहज बन्नुका साथै आर्थिक गतिविधि बढाउन र ग्रामीण विकासलाई गति दिनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार