आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

1.1k Shares

काठमाडौँ  । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी केही क्षेत्रमा मेघगर्जन, चट्याङ र भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

 
 
सम्बन्धित समाचार