काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सञ्चालनमा आउने भएको छ। भौतिक निर्माण, सुरक्षासम्बन्धी परीक्षण र सञ्चालन कम्पनी छनोटको काम सम्पन्न भइसकेकाले अहिले अन्तिम प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वसचिव ई. अर्जुनजङ्ग थापाले यो सुरुङमार्गले नेपालमा आधुनिक भू–इन्जिनियरिङ र यातायात प्रविधिको नयाँ अध्याय सुरु गरेको बताउनुभयो। उहाँका अनुसार सुरुङमा अत्याधुनिक भेन्टिलेसन प्रणाली, सिसिटिभी निगरानी, आपत्कालीन सुरुङ, डिजिटल नियन्त्रण प्रणालीजस्ता सुविधा जडान गरिएको छ, जसले नेपाली इन्जिनियरिङ क्षेत्रमा नयाँ अनुभव र प्रविधि हस्तान्तरण गर्नेछ।
यस आयोजनाअन्तर्गत नेपालकै पहिलो आधुनिक फ्लाइओभरसमेत निर्माण गरिएको छ। यसले देशको पूर्वाधार विकासलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।
आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गको सम्पूर्ण भौतिक निर्माण सम्पन्न भइसकेको छ भने सुरुङभित्र सवारी सञ्चालनको परीक्षणसमेत सफलतापूर्वक गरिएको छ। धादिङतर्फको पश्चिमी पोर्टल क्षेत्रमा देखिएको पहिरो व्यवस्थापनसमेत सकिएको उहाँले जानकारी दिनुभयो।
सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा मापदण्ड लागू गरिएको छ। सुरक्षाका कारण साइकल, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी तथा पेट्रोलियम पदार्थजस्ता प्रज्ज्वलनशील वस्तु बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ।
सञ्चालनको जिम्मेवारी नेपाली कम्पनी एआरटी र चिनियाँ कम्पनी युसिनको संयुक्त उपक्रमले पाँच वर्षका लागि पाएका छन्। यी कम्पनीले टोल शुल्क सङ्कलन, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, मर्मतसम्भार र सुरुङको नियमित निगरानीको जिम्मेवारी सम्हाल्नेछन्।
सुरुङ सञ्चालनका लागि प्रशासनिक, प्राविधिक र सुरक्षा गरी करिब १५० जना जनशक्ति परिचालन गरिनेछ। हाल उनीहरूलाई आवश्यक तालिम दिइरहेको आयोजना कार्यालयले जनाएको छ।
सुरुङमार्गको दुवैतर्फ टोल प्लाजा निर्माण सम्पन्न भइसकेको छ। काठमाडौंतर्फ तीन र सिस्नेखोलातर्फ दुई गरी पाँच वटा टोल प्लाजा निर्माण गरिएको छ। अहिले टोल सङ्कलनका लागि आवश्यक सफ्टवेयर जडान, सडक बोर्ड नेपालसँग प्रणाली एकीकरण तथा बैंकिङ प्रणालीसँग आबद्ध गर्ने काम अन्तिम चरणमा पुगेको छ। यो नेपालमा स्वचालित टोल शुल्क सङ्कलन प्रणाली प्रयोग गरिएको पहिलो सडक आयोजना हुनेछ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार निर्माण कम्पनी जापानको हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग आयोजना कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिसकेको छ। अब सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजना कार्यालयमा आएको छ।
सम्झौताअनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले ढिलो भई ७९ महिनापछि पूरा भएको हो।
आयोजना सम्पन्न गर्न करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। त्यसमध्ये करिब १७ अर्ब रुपैयाँ निर्माण, २ अर्ब रुपैयाँ मूल्यवृद्धि तथा विनिमय दर समायोजन र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहण तथा मुआब्जामा खर्च भएको आयोजना कार्यालयले जनाएको छ।
कुल लागतमध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋणबाट व्यहोरण गरिएको हो भने जग्गा मुआब्जा नेपाल सरकारले उपलब्ध गराएको हो। आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
आयोजना कार्यालयका अनुसार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको सडक यातायात इतिहासमा व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको पहिलो पूर्ण सुविधासम्पन्न आधुनिक सडक सुरुङमार्ग हो, जसले काठमाडौं–नौबिसे खण्डको यात्रा समय घटाउनुका साथै सुरक्षित र सहज आवागमनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।