दुई सय वर्ष पुरानो टक्सार बजार सुनसान, बसाइँसराइले मौलिक धातु उद्योग संकटमा

1.4k Shares

धनकुटा । कुनै समय धातु उद्योग र टक (डोली पैसा) उत्पादनका लागि परिचित भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले बसाइँसराइको प्रभावले सुनसान बन्दै गएको छ। आवश्यक सेवा–सुविधा, शिक्षा, रोजगारी र अवसरको खोजीमा स्थानीय अन्यत्र सर्न थालेपछि बजारको चहलपहलसँगै दुई सय वर्षभन्दा पुरानो मौलिक पहिचान पनि संकटमा परेको छ।

जिल्ला सदरमुकाम भोजपुरबाट करिब डेढ किलोमिटर दूरीमा रहेको टक्सार बजारमा एक समय २५ भन्दा बढी धातु उद्योग सञ्चालनमा थिए। तर, व्यवसायी र कालिगढको बसाइँसराइ बढेसँगै अहिले चारवटा उद्योग मात्र सञ्चालनमा रहेको स्थानीय विमल शाक्यले बताउनुभयो।

उहाँका अनुसार धातुका सामग्री बनाउने सीप पुस्तान्तरण हुन नसक्दा र काम श्रमसाध्य भएकाले युवा पुस्ता यो पेसातर्फ आकर्षित हुन सकेको छैन। त्यसकै कारण सञ्चालनमा रहेका उद्योगसमेत क्रमशः बन्द हुने अवस्थामा पुगेका छन्।

टक्सारमा करुवा, आङ्खोरा, कचौरा, कप, डाडु, पन्यु, थाल, डबका, गाग्री, खड्कुँला लगायत दर्जनौँ प्रकारका कलात्मक धातु सामग्री उत्पादन हुँदै आएको थियो। यी सामग्रीको उच्च मागका कारण कुनै समय टक्सार बजार व्यापारिक रूपमा निकै समृद्ध मानिन्थ्यो।

उद्योगहरू बन्द हुँदै जाँदा बजारको आर्थिक गतिविधि मात्रै प्रभावित भएको छैन, पुरातात्त्विक तथा कलात्मक शैलीमा बनेका परम्परागत घर, पाटीपौवा र मठमन्दिर पनि संरक्षण अभावमा जीर्ण बन्दै गएका छन्।

उद्यमीहरूका अनुसार बजारमा धातुका सामग्रीको माग अझै रहे पनि उत्पादन गर्ने उद्योग र दक्ष कालिगढको अभावका कारण मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको छ। उद्योग सञ्चालनका लागि आवश्यक कोइला, धातु, धलोटलगायतका कच्चा पदार्थ काठमाडौंबाट ल्याउनुपर्ने बाध्यताले उत्पादन लागत पनि बढाएको छ।

एक उद्यमीका अनुसार कच्चा पदार्थको अभाव, दक्ष जनशक्तिको कमी र राज्यबाट पर्याप्त संरक्षण तथा प्रोत्साहन नपाउँदा पुर्ख्यौली पेसा ओझेलमा पर्दै गएको छ। उहाँले टक्सारको मौलिक धातु कला, ऐतिहासिक सम्पदा र परम्परागत उद्योग जोगाउन सरकारले विशेष संरक्षण तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

इतिहासअनुसार टक्सारमा निर्मित हस्तकलाका धातु सामग्री कुनै समय चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलिगुडी र कोलकातासम्म निर्यात हुने गर्थे। तर अहिले बसाइँसराइ र संरक्षणको अभावले बजारसँगै यसको सांस्कृतिक र औद्योगिक पहिचानसमेत क्रमशः ओझेलमा पर्दै गएको छ।

सम्बन्धित समाचार