काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली फुटबल महाशक्ति फ्रान्स र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ। विश्व फुटबलका दुई सफल टोलीबीचको यो खेललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक र रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
अमेरिकाको टेक्सस राज्यस्थित अर्लिङ्टनको ड्यालस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति हुनेछ। करिब ७० हजार दर्शक क्षमताको मैदानमा विश्व फुटबलका दुई युवा सुपरस्टार किलियन एम्बाप्पे र लामिन यामाल पहिलो पटक विश्वकपको सेमिफाइनलमा आमनेसामने हुनेछन्।
तथ्याङ्क विश्लेषक संस्था ‘अप्टा’को सुपर कम्प्युटरका अनुसार निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत रहेको छ। स्पेनको जित्ने सम्भावना ३१.८ प्रतिशत आँकलन गरिएको छ भने खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको छ।
दुवै टोलीबीच हालसम्म ३८ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये स्पेनले १८ खेल जित्दा फ्रान्स १३ खेलमा विजयी भएको छ। सात खेल बराबरीमा टुंगिएका छन्।
पछिल्लो भेट सन् २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो, जहाँ लामिन यामालको दुई गोलमा स्पेनले फ्रान्सलाई ५–४ ले हराएको थियो। त्यसअघि युरो २०२४ को सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो।
यद्यपि विश्वकप इतिहासमा भने यी दुई टोलीबीच एक पटक मात्र भेट भएको छ। सन् २००६ को प्रि–क्वार्टरफाइनलमा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३–१ ले हराएको थियो।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले हालसम्म ८ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन्। ओस्मान डेम्बेले र माइकल ओलिसेको साथले फ्रान्सको आक्रमण झन् घातक बनेको छ।
यता स्पेनले भने प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको छ। पाँच खेलमा मात्र एक गोल बेहोरेको स्पेनको रक्षा बलियो देखिए पनि आक्रमण अपेक्षाकृत कमजोर रहेको छ। चोटबाट फर्किएका लामिन यामालले अझै पूर्ण लय समात्न सकेका छैनन् भने मिकेल ओयार्जाबालले चार गोल गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका छन्।
फ्रान्स दुई पटक (१९९८ र २०१८) तथा स्पेन एक पटक (२०१०) विश्वकप च्याम्पियन बनिसकेका छन्। दुवै टोली फेरि एकपटक उपाधिनजिक पुग्न चाहन्छन्। त्यसैले मंगलबारको सेमिफाइनल केवल फाइनल प्रवेशको लडाइँ मात्र नभई युरोपेली फुटबलका दुई महाशक्तिबीचको प्रतिष्ठाको संघर्ष पनि हुनेछ।