काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउने विषयमा औपचारिक छलफल अघि बढाउने संकेत दिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपमा थप १६ राष्ट्रलाई सहभागी गराउने प्रस्तावमाथि प्रतियोगिता सकिएपछि सम्बन्धित निकायमा विस्तृत समीक्षा हुने बताएका छन्।
स्वीस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले ४८ बाट ६४ टोली पुर्याउने अवधारणा विश्व फुटबलको विस्तारका लागि महत्त्वपूर्ण हुन सक्ने बताएका हुन्।
उनका अनुसार विश्वकप युरोप र दक्षिण अमेरिकामा सीमित नभई विश्वभरका राष्ट्रलाई अवसर दिने प्रतियोगिता बन्नुपर्छ। “हरेक देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ। अहिले विश्वभर फुटबलको स्तर उल्लेखनीय रूपमा बढेको छ। यदि साना राष्ट्रलाई अवसर दिइएन भने उनीहरूको विकासको गति पनि सुस्त हुन सक्छ,” उनले भने।
सन् १९९८ देखि २०२२ सम्म विश्वकप ३२ टोलीको सहभागितामा सञ्चालन हुँदै आएको थियो। हाल अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकप २०२६ भने ४८ टोली सहभागी भएको पहिलो संस्करण हो। १०४ खेलमध्ये अब दुई सेमिफाइनल र फाइनल खेल मात्र बाँकी छन्।
इन्फान्टिनोले ४८ टोलीको नयाँ संरचनालाई सफल प्रयोगको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस संस्करणमा सबै महादेशका टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्। अफ्रिकाबाट सहभागी १० टोलीमध्ये ९ टोली नकआउट चरणमा पुग्नु नयाँ संरचनाको सकारात्मक परिणाम भएको उनको दाबी छ।
सन् २०३० को विश्वकप इतिहासमै पहिलो पटक तीन महादेशका ६ देशमा आयोजना हुँदैछ। उद्घाटनका तीन खेल उरुग्वे, अर्जेन्टिना र पराग्वेमा हुनेछन् भने बाँकी खेल मोरक्को, पोर्चुगल र स्पेनमा आयोजना गरिनेछ। यदि ६४ टोलीको प्रस्ताव पारित भए दक्षिण अमेरिकाले थप खेल आयोजना गर्ने अवसर पनि पाउनेछ।