तीन मिडिया हाउसअगाडि शंकास्पद पार्किङ, निष्पक्ष छानबिनको माग

1.4k Shares

काठमाडौं । काठमाडौंका तीन प्रमुख सञ्चारगृहको कार्यालयअगाडि एकै समयमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरेर आवागमन अवरुद्ध गर्ने प्रयास भएपछि प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । घटनालाई सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने र तर्साउने प्रयासका रूपमा व्याख्या गरिएको छ ।

सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसका गेटअगाडि सवारीसाधन तेर्स्याएर राखिएको थियो। कार्यालयमा प्रवेश–निर्गमनमा अवरोध हुने गरी पार्किङ गरिएको देखिएपछि सम्बन्धित सञ्चारगृहले प्रहरीलाई जानकारी गराएका थिए ।

केही घण्टापछि प्रहरीले क्रेनको सहायताले ती गाडी हटाएको भए पनि कसले र कुन उद्देश्यले यस्तो गतिविधि गराएको हो भन्नेबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

घटनापछि नेपाल पत्रकार महासंघले यसलाई अत्यन्तै शंकास्पद र निन्दनीय भन्दै तत्काल निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनी कारबाहीको माग गरेको छ । महासंघले पत्रकार तथा सञ्चारगृहको सुरक्षाको प्रत्याभूति गर्न सरकार र सुरक्षा निकायलाई आग्रह गरेको छ ।

यस घटनाप्रति विभिन्न राजनीतिक दलहरूले पनि प्रतिक्रिया दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको दबाब वा त्रास सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै संलग्न व्यक्तिलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

घटनाको पृष्ठभूमिमा पछिल्ला दिनमा सरकारको आलोचनात्मक समाचार प्रकाशित भएका विषयहरू पनि जोडिएपछि यसको उद्देश्यबारे थप बहस सुरु भएको छ। सञ्चार क्षेत्रका सरोकारवालाहरूले लोकतन्त्रमा स्वतन्त्र प्रेसमाथि कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब स्वीकार्य नहुने बताएका छन् ।

हाल प्रहरीले घटनामा प्रयोग गरिएका सवारीसाधनको स्वामित्व, संलग्न व्यक्ति र सम्भावित उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे नयाँ बहस सिर्जना गरेको छ ।

सम्बन्धित समाचार